संघ-संस्थाहरूसँग सहकार्य तथा सूचीकरणका लागि विवरण संकलन सम्बन्धमा

जर्मनी तथा यस राजदूतावासको क्षेत्राधिकार (Accredited Countries) भित्र क्रियाशील रहनुभएका सम्पूर्ण नेपाली संघ-संस्था, समाज, व्यावसायिक सञ्जाल, सांस्कृतिक, शैक्षिक तथा पेशागत संस्थाहरूसँग निरन्तर सम्पर्क, प्रभावकारी समन्वय, सूचना आदान-प्रदान तथा सम्भाव्य सहकार्यलाई सुदृढ र व्यवस्थित बनाउने उद्देश्यले एक अद्यावधिक तथ्याङ्क (Database) तयार गर्न लागिएकाले यो सूचना प्रकाशित गरिएको छ।

राजदूतावाससँग सहकार्य गर्न तथा सञ्चार सम्पर्कमा रहन इच्छुक नेपाली गैर-नाफामूलक संस्था, पेशागत समाज, सांस्कृतिक/व्यावसायिक संगठन, विद्यार्थी/युवा समूह, धार्मिक, खेलकुद तथा मिडिया लगायतका सबै संस्थाहरूले तोकिएको "सहकार्यका लागि संघ-संस्था सूचीकरण फाराम" (Listing and Collaboration Information Form for Nepali Organizations) भरी बुझाउनुहुन हार्दिक अनुरोध छ।

फाराम भर्ने तरिका र आवश्यक विवरण:

• फाराम डाउनलोड गर्नका लागि यहाँ क्लिक गर्नुहोस्।

• संस्थाको विवरण: संस्थाको नाम, प्रकार, स्थापना वर्ष, कानूनी दर्ता स्थिति र दर्ता नम्बर।

• सम्पर्क ठेगाना: संस्थाको आधिकारिक ठेगाना, टेलिफोन, इमेल, वेबसाइट तथा सामाजिक सञ्जाल।

• पदाधिकारी विवरण: अध्यक्ष, सचिव तथा दूतावास समन्वयका लागि तोकिएका सम्पर्क व्यक्तिको विवरण।

• गतिविधि तथा सहकार्य: संस्थाको सदस्यता संख्या, भौगोलिक क्षेत्र, मुख्य कार्यक्षेत्रहरू (सामाजिक कल्याण, संस्कृति, पर्यटन प्रवर्द्धन, व्यापार/लगानी आदि) र दूतावाससँग संयुक्त रूपमा गर्न सकिने कार्यक्रमका प्रस्तावहरू।

• संलग्न गर्नुपर्ने कागजात (Enclosures): संस्थाको विधान (Statute), परिचयपत्र/ब्रोसर (Brochures) वा अन्य सम्बन्धित आधिकारिक कागजातहरू।

इच्छुक संघ-संस्थाहरूले फाराम पूर्ण रूपमा भरी आधिकारिक प्रतिनिधिबाट दस्तखत तथा छाप (भएसम्म) लगाई संस्थाका कागजातहरूसहित राजदूतावासको आधिकारिक इमेल berlin@nepalembassy.de मा पठाउनुहुन अनुरोध गरिन्छ।

नेपाली राजदूतावास
बर्लिन, जर्मनी